नगर अस्पताल सेवाप्रवाहका दृष्टीकोणले चर्चा कमाइरहेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य र शिक्षा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ छ्यालिस बिघेमा अवस्थित नगर अस्पताल सेवाप्रवाहका दृष्टीकोणले चर्चा कमाइरहेको छ । २६ कठ्ठा जग्गामा फैलिएको यो नगर अस्पताल सञ्चालनको छोटो समयमै यहाँसम्म आइपुग्दा सर्वसाधारणको पहुँचमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको रूपमा चर्चा बटुल्न सफल भएको छ । बाबुराम राई लगायत स्थानीय जग्गादाताको सहयोगमा निर्मित अस्पतालमा गत वर्षयता आकस्मिक सेवा सञ्चालित छ । भौतिक रुपमा व्यवस्थित संरचना विकासमा लागेका छौँ । स्थानीय बिरामीको चाप र तिनको माग अनुसारको सेवाप्रवाहमा लागेका छौँ, आँखा र दाँतसम्बन्धी अत्याधुनिक सेवा आरम्भ हुने भएको छ, अहिलेसम्म ९ वटा ओपीडी सेवा आरम्भ भएको छ– स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य भन्नुहुन्छ । १३ औँ नगरसभाबाट नीति–कार्यक्रम पास गर्दै नगरका १० वटा वडामा स्तरीय सेवा प्रवाह गर्ने नीति–कार्यक्रम रहेको उहाँले थप्नुभयो । केही दिनअघि मात्र सुरु गरेको फिजियोथेरापीसँगै स्त्रीरोगसम्बन्धी अलग्यै उपचार सुरु गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले थप जानकारी दिनुभयो । प्रारम्भमा निर्मित १५ शैयाको अस्पतालले सेवाप्रवाह आएकोप्रति सगर्व उभिँदै स्वाशा प्रमुख आचार्यले १८ करोड बराबरको लगानीमा बन्न लागेको भवन निर्माणको काम खुश्वु कन्ट्रक्सन कम्पनिले २ वर्षमा हस्तान्तरण गर्ने शर्तसहित ठेक्का लिएको जनाउनुभयो । आचार्यका अनुसार नगरभित्र कायम १० वटा वडामै स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत ३० जना स्वास्थ्य स्वयंसेविकाले दिनुभएको सेवा बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अपूग रहेको स्वास्थ्य सहायक संयोजक जगतबहादुर मगरले बताउनुभयो । ३ जना चिकित्सकको मातहतमा ४३ जना नगर अस्पतालमा कार्यरत कर्मचारीको सक्रियताले नगर अस्पतालले उल्लेख्य फड्को मारेको सहायक संयोजक मगरको विश्वास रहेको छ । यो आर्थिक वर्षमा स्वास्थ्य शीर्षकमा विनियोजित बजेट १ करोड ८९ लाख ८५ हजार रहेको भए पनि यो पर्याप्त हुन नसक्ने अनुमान स्वास्थ्य क्षेत्रभित्र लगाइन्छ । गठबन्धन स्वरुपको संघीय सरकारले बजेट र बजेट शीर्षक कटौति गरेर पठाएसँगै स्थानीय सेवाग्राहीलाई यसको प्रत्यक्ष मार परेको यहाँबाट सहजै अनुमान लगाउन सकिन्छ । ‘पारिवारिक बीमा विपन्नलाई, सुलभ उपचार नागरिक सबैलाई’ नामक कार्यक्रम मार्फत् करिब १२ सय परिवारलाई निःशुल्क स्वास्थ्य वीमा गरिने कार्यक्रम पनि नगरमा प्रभावकारी देखिन्छ । पालिका र पालिका बाहिरदेखि पनि बिरामीको चाप बढ्दो छ, समयमा सेवा दिन सकिएको छैन, भौतिक संरचना अभाव छ, खासखास रोग सम्बन्धी विज्ञ चिकित्सकलाई स्थायी रुपमा राख्न सकिएको छैन । जटिल प्रकृतिका रोगको निदान दिन सकिएको छैन, नगरले चाहेर मात्र भएन, हुँदो रहेनछ, माथिबाट आउनुपर्ने बजेट कटौती भएर आउछ, पुग्दो बजेट अभावमा केही समस्याहरू पनि असरल्ल उब्जेका छन्, यहाँ हामीले त के नै पो गर्न सक्छौँ र ! पूर्णतः सेवा दिन नसकेकोमा असजिलो मान्दै नगर प्रमुख मोहनप्रसाद तुम्बापोले भन्नुभयो । नगरमा शिक्षा : विगत दशकयता पथरी शनिश्चरे नगर शिक्षाको केन्द्र बन्दै गइरहेको छ । विविध विधागत र संकाय अनुसार पठनपाठन हुने विद्यालयहरूमा सामुदायिक तर्फ ३८ वटा, धार्मिक विश्वनाथ संस्कृत विद्यालय एउटा र संस्थागत विद्यालय ३७ वटा छन् । ४ वटा बालकेन्द्र समेत रहेका नगरमा ३ वटा सामुदायिक बालविकास केन्द्र र एउटा आन्तरिक मौलीबारी बालविकास केन्द्र क्रियाशील रहेको जानकारी प्राविधिक शिक्षा सहायक बिना मिश्रले दिनुभयो ।